बेलायतमा अर्का नेपालीको मृत्यु

२७ चैत्र,काठमाण्डौ ।
बेलायतको लण्डनमा अर्का नेपालीको मृत्यु भएको छ । लण्डनकै नटिङहममा आइसोलेसनमा बसेका अर्का एक पूर्व गोर्खाको मृत्यु भएको छ । ५८ वर्षका शिव श्रेष्ठको बुधबार साँझ ५ बजे स्थानीय अस्पतालमा निधन भएको हो । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए । श्रेष्ठलाई कोरोनाको संक्रमण भएको आशंका गरिएपनि अस्पतालले पुष्टी गरी सकेको छैन ।‘केहि दिनदेखि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बस्नुभएको थियो । आज बिहान ३ बजेतिर अलिक गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल जानुभएको थियो’, मृतकका छोरा सुमन श्रेष्ठलाई उद्धृत गर्दै एनआरएनए इंग्ल्याण्डका सचिव गोविन्द खरेलले भने, ‘साँझ ५ बजे अस्पतालले परिवारलाई फोन गरेर मृत्यु भएको जानकारी गराएको हो ।’अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट विहिबार मात्रै उपलब्ध हुने बताएको छ । मृतकलाई ह्दयघात भएको हुन सक्ने समेत आशंका गरिएको छ ।

खरेलका अनुसार सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि जिपीको सल्लाहमा उनी घरमै ‘आइसोलेसन’मा बसेका थिए । उनलाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्या रहेको कुनै जानकारी आफुहरुलाई नभएको खरेलले बताए । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।नेपाली लिंकको सहयोगमा

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।