साउदी जाने नेपाली कामदारको क्वारेन्टिङ खर्च रोजगारदाताले व्यहोर्ने

१५ असार, दोहा ।
रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारहरुको क्वारेन्टिङ खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने कामदारहरुको संस्थागत क्वारेन्टिङको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने जानकारी साउदी सरकारबाट दूतावासलाई प्राप्त भएको जनाएको छ ।दूतावासका अनुसार घर बिदामा गएर साउदी फर्किन लागेका नेपाली कामदारहरुले संस्थागत क्वारेन्टाइनको खर्चको बारेमा आफ्नो कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ ।नयाँ आउने श्रमिकहरुको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेन्टाइनको नाममा हुनसक्ने सम्भाव्य ठगीबाट बच्न समेत दूतावासले सूचनामा भनेको छ ।

यस्तै सात दिनको संस्थागत क्वारेन्टाइन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन साउदी सरकारलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने भएपछि अब बिदामा नेपाल गएर पुन: साउदी फर्किने तयारीमा रहेका नेपालीलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।