काठमाडौ । डा. अनुपमा कार्की चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञका रूपमा नेपालकै पुरानो वीर अस्पतालमा कार्यरत छिन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट सन् २००८ मा पोस्ट ग्राजुएट (पिजी) गरेकी छिन् । सन् २००१ मा एमविविएस सकेकी डा. कार्कीले यौनरोग विशेषज्ञका रूपमा लामो अनुभव बटुलिसकिन् ।चिकित्सक मात्र नभएर उनी न्याम्समा अध्ययनरत रेसिडेन्ट डाक्टरहरूको सीप र ज्ञान अभिवृद्धि गराउन शिक्षिकाको रूपमा पनि कार्यरत छिन् । यौनरोगीसँग ‘डिल’ गर्नु एउटा महिला डाक्टरका लागि उति सहज हुँदैन तर अनुपमा यसमा अभ्यस्त भइसकेकी छिन् । पहिलेको तुलनामा अहिलेको युवापुस्ता यौनसमस्याबारे खुलेर कुरा गर्न थालेको उनको अनुभव छ । वीर अस्पतालमा यौनरोग र यौनांगका रोगका विषयमा उपचारका लागि आउने बिरामीको उपचारका क्रममा उनको भोगाइ उनकै शब्दमा :
यौनका मामलामा नेपाली समाज खुल्दै गएको छ, पर्याप्त खुलापन अझै आइसकेको छैन । यौनरोगीहरू चाहे सहरका हुन् वा गाउँका, अझै पनि खुलेर आफ्नो समस्या राख्ने अवस्थामा पुगेका छैनन् ।
मानिसहरू यौन रोग वा यौनांगमा रोग लागेको लामो समयसम्म लुकाएरै राख्ने गर्छन् । अन्तिम अवस्थामा वा रोगले जटिल रूप लिएपछि मात्र अस्पतालमा आउनेहरू धेरै छन् । वीर अस्पतालमा अचेल दैनिक औसत १० जना बिरामी यौन समस्या लिएर आउने गरेका छन् । यौनरोग भनेर अस्पतालमा छुट्टै कोठा वा बोर्ड राख्दा उपचारका लागि आउनेहरू पस्नै धकाउने र डराउने गर्दा रहेछन् । त्यही भएर वीर अस्पतालमा यौन रोगका लागि भनेर छुट्टै बोर्ड राखिएको छैन । छुट्टै कोठा त छ तर त्यसमा केही लेखिएको छैन ।
छालाको उपचार गर्ने कोठाहरूमै यौनरोगको पनि उपचार गरिन्छ ।
उपचारका लागि अस्पतालमा आउनेमा अधिकांश पुरुषहरू नै रहेका छन्, त्यसमा पनि युवाहरू बेसी । अधबैंसे वा वृद्धहरू कमै आउँछन् । महिलाहरू लाज र डरका कारण पुरुषको तुलनामा निकै कम आउँछन् ।
पुरुषलाई पुरुष र महिलालाई महिला डाक्टर
अस्पतालमा धेरैजसो पुरुषहरू उपचारका लागि आउने हुँदा उनीहरू मलाई देखेर झस्किन्छन् । लाजले रातोपिरो हुने र समस्या नै भन्न नसक्ने अवस्था पनि हुन्छ । आफ्नो गोप्य अंग देखाउन साह्रै सकस मान्छन् । पुरुषहरू प्राय पुरुष डाक्टर भएको कोठामा चियाउने गर्छन् । कतिपय पुरुषहरूले त महिला डाक्टरलाई जचाउँदिन, पुरुष डाक्टर नै चाहिन्छ पनि भन्ने गरेका छन् । त्यसो भन्नेलाई हामीले सकभर पुरुष डाक्टर नै जाँचका लागि पठाइदिन्छौँ । तर, सधैँभरी पुरुष डाक्टर नहुन पनि सक्छन् । त्यस्तो बेला उहाँहरूलाई सम्झाइबुझाई गरेर परामर्श तथा रोगको बारेमा जानकारी दिने गरेकी छु ।
महिलाहरू पनि त्यस्तै हुन्छन् । सकेसम्म महिला डाक्टरलाई नै खोज्छन् । कतिपयले पहिला भन्न बेस्सरी लजाए पनि हामीले परामर्श गरेपछि र रोगको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन दिएपछि बल्लतल्ल आफ्ना समस्या राख्ने गर्छन ।
लजाउने र डराउनेलाई मैले ‘रोग भनेको महिला वा पुरुष भनेर लाग्दैन, जसलाई पनि लाग्नसक्छ, अन्य अंगमा हुने रोग भन्दा यौन रोगले जटिल समस्या लिन सक्छ, त्यसकारण नलजाई भन्नुहोला, हामी महिला डाक्टर भएर त उपचार गर्न लजाएका छैनौँ तपाईंहरू किन लजाउनुहुन्छ रु के जचाउने हो रु खुलेर भन्नुहोस, रोग लुकाउनु हुन्न, लाज मान्नु पर्दैन, भनेर लामै मन्तव्य फलाक्ने गरेकी छु ।
कोही कागजमा लेख्छन्
पहिला पहिला त हामीले ढोकामा आएका धेरै बिरामीलाई ‘आउनुहोस † यतै हो, आउनुहोस † आउनुहोस, नलजाउनुहोस †’ भन्ने वाक्य हरेक दिन दोहोर्याउनु पथ्र्यो । कति त कोठामा छिर्नसमेत हिम्मत गर्दैनथे । बल्ल बल्ल छिरेकाहरू पनि समस्या भन्न निकै बेर कन्थे । अझै पनि थुप्रै विरामीहरू भित्र छिर्छन् तर समस्या बताउँदैनन् । कोही त खुट्टा चिलाउँछ भनेर उम्किन खोज्छन् त कोही मेरो आफन्तलाई समस्या छ भनेर घुमाउरोरूपमा प्रस्तुत हुन्छन् । नलजाउनुहोस, उपचार गरे निको हुन्छ भनेपछि बल्ल बताउँछन् ।
केही समयअगाडि पुरुषहरूले महिला डाक्टरलाई देखेपछि बोल्न नसकेर कागजमा आफ्ना समस्या लेखेर दिने पनि गरेका थिए । उनिहरूले लिंग उत्तेजित नहुने, लिंगमा बिमिरा आउने, चिलाउने, घाउ हुने, यति जनासँग सम्पर्क गरेको थिएँ, यस्तो समस्या आयो जस्ता कुराहरू कागजमा लेखेका हुन्थे । उनिहरूको समस्या पढेपछि हामीले उपचार तथा सल्लाह दिन्थ्यौं ।
युवाहरू खुल्दै छन्
नेपाली समाजमा अहिले पनि यौनरोग भन्नेबित्तिकै असहजरूपमा लिइने गरेको उपचारका लागि आउने बिरामीहरूको व्यवहारबाट प्रष्ट हुन्छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रका मानिसलाई मुख खोल्नै महाभारत पर्छ । उपचारका लागि आएका महिला हुन् वा पुरुष, आफ्नो समस्या भन्न अप्ठ्यारो मान्नेमा युवाहरू भन्दा अधवैँसे र वृद्धहरू धेरै हुन्छन् । युवाहरूमा भने विगतका वर्षको तुलनामा अहिले धेरै परिवर्तन आएको छ । सहरीया युवा–युवतीहरू त निकै उदार भइसकेका छन् । उनीहरू सोझै यति जनासँग सम्पर्क भयो, मलाई यस्तो–यस्तो समस्या छ भन्छन् । उनीहरूमा खुलेर समस्या राख्नुपर्छ, समस्या देखायो भने समाधान हुन्छ भन्ने ज्ञान भइसकेको छ ।
यस्ता छन् समस्या:
हाम्रो अनुमानमा यौन समस्या भएकाहरूमध्ये बल्लतल्ल ३० देखि ४० प्रतिशतमात्र अस्पतालमा आउने गर्दछन् । उपचारको लागि आउनेहरूमा यौन इच्छा हुने तर उत्तेजना नहुने समस्या भएकाहरू अत्यधिक रहेको पाइन्छ । अन्तिम अवस्थामा मात्र डाक्टरकोमा पुग्छन्, सकेसम्म मेडिकलतिरबाट औषधी गरेर निको हुने प्रयास गर्छन् । यौन अंगमा घाउ भएका मुसा वा खटिरा आएका, यौनांग बाट पीप बगेका, पिसाब पोल्ने, यौनसम्पर्क गर्दा यौनांग पोल्ने, गनोरिया, हर्पिज जस्ता रोग लागेका बिरामीहरू बढी छन् ।
घर बाहिर रहँदा असुरक्षित यौन सम्पर्क गरेकाहरू पनि आउने गरेका छन् । उनीहरूमध्ये धेरैमा यौन उत्तेजना नहुने समस्या देखिएको छ । मानसिक समस्याले पनि उत्तेजना नआउने हुन्छ । एचआइभीलगायतका रोग सर्यो कि भन्ने लागेको हुन्छ उनीहरूलाई । रोग नै नलागेकाहरू पनि मलाई यस्तो भएको हुनसक्छ, उस्तो भएको हुनसक्छ भनेर अत्तालिँदै आउने गरेका छन् । बाहिर यौन सम्पर्क गरेपछि मनमा त्रास भएर आउने पनि प्रशस्तै छन् ।
असुरक्षित सम्पर्कका कारण देखिने समस्या बढी नै छ । यौन पेसामा लागेका महिलाहरू पनि समस्या देखिएपछि आक्कलझुक्कल जचाउँन आउने गरेका छन् । यौन दुर्बलताको समस्या भएकाहरूमा युवादेखि वृद्ध समेत पर्छन् । वृद्धहरू यौन इच्छामा कमी आउनुलाई उमेरको कारण मान्छन् । यौन इच्छा भएर पनि लिंग कडा नभएर आउने युवाहरूको संख्या पनि अत्यधिक रहेको छ ।
एक्ला–एक्लै आउँछन्
सामान्यत विवाहितमा यौन समस्या देखिएपछि श्रीमान्रश्रीमती वा यौनजोडी दुवैलाई परिक्षण गरी उपचार गर्नुपर्ने हुन्छ । तर, यस्ता बिरामी उपचारका लागि एक्लै आउने गर्दछन् । आफ्नै श्रीमान् र श्रीमतीबीच पनि समस्या सेयर गर्न नसकेकाले हुन सक्छ । उपचारका लागि आउनेमा विवाहित र अविवाहित उस्तै संख्यामा होलान् । विवाहित महिलाहरू यौन चाहना नहुने, चरमोत्कर्समा नपुग्ने र यौन सम्पर्कको समयमा पीडा हुने जस्ता समस्या लिएर बढी आउने गर्छन । विवाहित पुरुषहरूमा यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने र चरमोकर्षमा नपुग्ने समस्या धेरै देखिएको छ ।
मलाई लाज लाग्दैन
एमविविएस सकेर पहिलो पटक बिरामीको उपचारमा जाँदा मलाई केही डर लागेको थियो । तर एक–दुई सातापछि सामान्य लाग्न थाल्यो । मजाले काम गर्न सक्षम भएँ । चर्म तथा यौन रोगको विषय अध्ययनपछि पहिलोपटक यौनरोगको बिरामी हेर्दा मलाई पनि लाज लागेको थियो । कलेजमा पढ्दा नै हामीले यौनरोगका बारेमा धेरै जानकारी लिएको भए पनि प्रत्यक्ष बिरामीको उपचार गर्नुपर्दा केही अप्ठ्यारो लाग्नु स्वभाविकै हो । तर, बिरामीको उपचार गर्नु नै हाम्रो पेसा भएकाले पछि अभ्यस्त भइयो ।
अहिले त म जो बिरामी आए पनि यौनरोगका बारेमा खुलेर कुरा गरी उपचार गर्छु । महिला भएर पुरुषहरूको यौनसमस्याको समाधान गर्नुपर्दा न मलाई लाज लाग्छ, न ग्लानी हुन्छ । अन्य रोगभन्दा अझ यौनरोग बढी संवेदनशील हुँनाले म आफ्नो काममा अत्यन्तै संवेदनशील हुनुपर्छ । म आपैँm लजाउन थालेँ भने कसरी उपचार गर्ने रु महिला भएर यौन रोग विशेषज्ञका रूपमा काम गर्दा पेसागत रूपमा पनि कुनै अप्ठ्यारो परेको छैन ।
चिकित्सकको पेसा नै बिरामीको उपचार गर्नु हो । बिरामीलाई जस्तोसुकै रोग लागेको भए पनि एउटा चिकित्सकले उसलाई पूर्ण रूपमा निको पारेर पठाउने प्रयास गर्छ । आफूले हेरको बिरामी पूर्ण रूपमा निको भएर जाँदा बिरामीको अनुहारमा देखिने खुसीले नै हामी चिकित्सकहरूलाई खुसी र सन्तुष्टि मिल्ने गर्दछ ।
bhugolnews