‘मेरो सरकार’बारे प्रचण्ड चुप

  NTV NPL

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत शुक्रबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयो गरिएको ‘मेरो सरकार’ शब्दावलीप्रति जानकारी नभएको रहस्य खुलाएका छन् ।शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड स्वयंले यसको खुलासा गरेका हुन् ।शनिबार संसदीय दलको औपचारिक बैठक बस्नुअघि सांसदहरुले प्रचण्डसमक्ष यस विषयमा सोधेका थिए । जवाफमा प्रचण्डले यस विषयमा आफूलाई जानकारी नभएको मात्रै बताएनन् आफूलाई दिइएको कपिमा ‘मेरो सरकार’ उल्लेख नभएको खुलासा गरे ।

‘मैले राम्रोसँग हेरको हुँ । मैले पढ्दा ‘मेरो सरकार’ थिएन । पछि कहाँबाट घुसाइयो । म भन्न सक्दिनँ’, प्रचण्डले भने । प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली प्रवेश गरेका थिए । त्यसपछि ओलीले यस बारे संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ मात्र गरेनन् यसका विरुद्ध नबोल्न सांसदहरुलाई समेत सचेत गराए ।

उनले आफ्नो भनाइ राखिसकेपछि सांसदहरुले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन् । ‘मेरो सरकार’ शब्दावली प्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन् ।सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए । राष्ट्रपतिले प्रयोग गरेको शब्दावली माथि छलफल हुनुपर्ने उनीहरुको माग थियो । तर, ओलीले ‘मेरो सरकार’ शब्दावलीको विषयमा बोल्न सांसदहरुलाई रोक लगाइदिएका छन् । शुक्रबार संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले २१ पटक‘मेरो सरकार’ प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार नै संसदीय दलको बैठक बसालेर संशोधन गर्दा गराउने निर्णय गरिसकेको छ । उसले मेरो सरकारको सट्टटा नेपाल सरकार लेख्न माग गर्दै संशोधन दर्ता गर्ने भएको हो । यस्तै नेता विश्व प्रकाश शर्माले राष्ट्रपतिको सम्बोधन चल्दै गर्दा ट्युट गर्दै महारानी भन्दै ब्यग्य हानेका थिए ।

नीति तथा कार्यत्रम सहित समसामयिक विषयमा प्रधानमन्त्रीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको थिए। त्यसक्रममा उनले जे कुराको पनि विरोध भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘नीति तथा कार्यत्रममा नै विकासले निश्चित गति लिन सकेको छैन भनिएको छ, अहिलेको विकास खर्चको गतिसँग म सन्तुष्ट छैन, यसमा तालमेल मिलाउन जरुरी छ’ प्रधानमन्त्री ओलीले भने,‘यसको अर्थ कुनै पनि क्षेत्रमा सकारात्मक काम भएका छैनन् भन्ने होइन, जसरी पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता देखिएको छ।’

प्रधानमन्त्री ओलीले गलत नीति लिएको भए आफू सच्चाउन तयार रहेको तर विरोधमा नाममा विरोध नगरिदिन अनुरोध गरे।

‘राष्ट्रिय हितका पक्षमा कुनै पनि बाहनाबाजी विना उभिनुपर्छ, जस्ता कामको पनि विरोध?’ प्रधानमन्त्री ओलीले भने,‘गलत नीति र बाटो लिएको छ भने सरकार सच्चाउन तयार छ, देश विकासबाहेक सरकारले अरु सोचेको छैन, झुट बोल्ने र अल्मल्याउने बाटोमा सरकार लाग्दैन।’

उनले नीति तथा कार्यक्रममाथि भइरहेको आलोचनात्मक टिप्पणीप्रति पनि आपत्ति जनाए। ‘खोक्रोकहाँ भयो? के भएको भए भरिलो हुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने,‘हामी नयाँ प्रणालीमा छौँ, त्यस्तो अवस्थामा विकास, प्रगति र अग्रगतिका लागि सार्थक बहस हुनुपर्छ।’अन्तरक्रियाका सुरुमा नीति तथा कार्यत्रमले लिएका मुख्य उद्देश्यहरु पाँच मिनेटमा बताएपछि ओलीले पत्रकारहरुलाई प्रश्न गर्न समय दिएका थिए। त्यसपछि उनले एकघण्टा प्रश्नोत्तरमा बिताए। सबै भन्दा बढी उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले गरेको ‘मेरो सरकार’ भन्ने सम्बोधनको बचाउमा तर्क गरे। अन्तर्राष्ट्रिय प्रचलनहरुलाई हेर्दै नहेरी बौद्धिक जमात र सञ्चारमाध्यमले टिप्पणी गरेकोमा आफूलाई आश्चर्य लागेको उनले बताए।

‘२१ औं शताब्दी। सञ्चार सुविधाको यत्रो पहुँच हुँदा पनि राष्ट्रपतिले मेरो सरकारको भनेको आजको नेपालमा टीकाटिप्पणी हुन्छ। अलिकति दुनियाँ पनि थाहा पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्ने? कि निबन्ध जसरी पढ्ने? हाम्रो मानसिकता निरन्तर दरिद्र मात्र हुनुपर्ने हो? ’

राष्ट्रपतिले मेरो सरकार भनेकोलाई सामूहिक अर्थमा बुझ्नुपर्ने ओलीले बताए। छिमेकी मुलुक भारतको उदाहरण दिँदै ओलीले अन्तर्राष्ट्रिय प्रचलनलाई ख्याल गरिएको उल्लेख गरे। ‘नजिक भारतमै चलेको यस्तो अभ्यासलाई बौद्धिकजगतले थाहा नपाउनु आश्चर्यजनक छ’ प्रधानमन्त्री ओलीले भने,’ कतिपय लोकतान्त्रिक भनिने पार्टीहरु राजतन्त्र भन्दै हिँडेका छन् त्यसैले उनीहरुलाई राजतन्त्रको झल्को आइरहेको हो कि?’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको कुरा आफूले ‘पपुलिष्ट’ हुनका लागि नगरेको दाबी गरे। कुनै पनि क्षेत्रको भ्रष्टाचार आफूले अन्त्य गर्ने र त्यसका लागि नै काम गर्दा अहिले विगतका भ्रष्टाचारका कुराहरु खोतलिइरहेको उल्लेख छ।

सार्वजनिक सम्पत्ति हिनामिना, सुनतस्करी लगायत, अख्तियारमै रहेकाहरुबाट भएका भ्रष्टाचारका कुराहरु यतिबेला बाहिर निस्किनुमा आफ्नै पहलले सम्भव भएको ओलीको दाबी थियो।‘३८ क्विन्टलसम्म सुन तस्करी हुँदा चुपचाप बस्ने, प्रश्न नउठाउने अहिले त्यसलाई रोकिदिएपछि ठूला माछा खोई भन्दै हिड्ने?’ प्रधानमन्त्री ओलीले भने,‘ बालुवाटारको जग्गा कसले कुन कुन पालामा हडपेका थिए? अहिले त सरकारले खोजी गरेको हो, त्यही खोजीका कारण यो बाहिर आएको हो।’ उनले राष्ट्रको सम्पत्ति हिनामिनालाई सरकारले नसहने उल्लेख गर्दै कडा कारबाही गरिने बताए।

उनले सरकारको वार्षिक बजेटमा पार्न भनेर हालै प्रधानमन्त्रीको तर्फबाट योजना आयोगमा पठाएको चिठ्ठीको सम्बन्धमा पनि स्पष्टीकरण दिए। २०५१ सालमा गृहमन्त्री भएपछि आफूले निर्वाचन क्षेत्र, जिल्ला केन्द्रित राजनीति छोडेर राष्ट्रिय राजनीतिमा मात्र चासो राखेको दाबी गरे।

अहिले पठाएको भनिएको पत्र स्वकीय र निजी सचिवालयको कमजोरीका कारण आफ्नो जानकारी बेगर राष्ट्रिय योजना आयोगमा पुगेकाले त्यसलाई सच्चाइएको र संलग्नलाई सचेत गराइएको जानकारी दिए। ‘म नै योजना आयोगको अध्यक्ष हो, त्यसैले उपाध्यक्षकहाँ निवेदन हाल्ने जानुपर्छ?’ उनले भने,‘मेरो जानकारी बेगर यो काम भएकाले सचेत गराइएको छ। अब यो ‘डेड इस्यू’ भइसक्यो, यसलाई नै थप खोतल्न जरुरी छैन।’

संचारकेन्द्रको सहयोगमा*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।