७ बैशाख,कञ्चनपुर ।
विश्बमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि नेपालमा बैशाख १५ गते सम्मलाई सरकारले लकडाउन जारी राखेको छ । बैशाख देखि असार सम्म निरन्तर बिबाहको समय भएकाले पनि बिहेमा आवात-जावत गर्ने सवारीलाई पास नचाहिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ ।
जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार हालसम्म सवारी साधनको इ–पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थमा रहेका निवेदनको सङ्ख्या २९ रहेको पनि प्रशासनले जानकारी गराएको छ ।








