९ भाद्र,काठमाण्डौ ।
आजदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि पाँचौँ चरणको उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै केहि उडान स्थगन गरिएको थियो । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो ।
मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए । यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना परिक्षण नेगेटिभ रिपोर्ट भएकाहरु सिधै घर जान पाउने बताएका छन् ।
सिसिएमसिले सार्बजनिक गरेको उडान तालिकानुसार आज युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौँ ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।
सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ । आवगमन गर्ने सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुले नै बेहोर्नुपर्नेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ ।







