चैत्र ११ सोमबार । अहिलेको समयमा पब्जी खेल मोबाइल प्रयोगकर्ताहरूमा एकदमै लोकप्रिय बनेको छ । लाखौँ मानिसहरू यसको लतमा फिसेका छन् खास गरी त किशोर किशोरी र बालबालिकामा यो गेमका कारण नकारात्मक असर तथा कुलतका कारण यो अनलाइन गेम प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वभर उठेको छ ।हाम्रै छिमेकी मुलुक भारतका केही सहरमा त यो गेम नै बन्द गराइएको छ । भने गुजरातमा यो गेम खेल्ने धेरै युवाहरू प्रकाउ समेत परेका छन् । भारतमै पब्जी खेलको कुलतका कारण एक जना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरूमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भयो।
निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्याे । यद्यपि विज्ञहरुले चाहीँ केवल मोबाइल गेमका कारण मांशपेशीमा समस्या उत्पन्न हुँदा ज्यानै गएको भन्न नसकिने र उनमा अरु नै स्वास्थ्य समस्या पनि रहेको हुनसक्ने बताएका छन् । उनको उपचार गरेका एकजना डाक्टरले चाहीँ ती युवकमा संक्रमण समेत देखिएको र सोही संक्रमणका कारण ज्यान गएको बताएका छन् । भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् ।
पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् । यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ । अर्थात् गेमप्ले टाइममा ६ घण्टाको सीमा तय गरेको छ । यो बन्देज केवल भारतमा मात्र लागू गरिएको हो र विश्वका अरु देशमा चाहीँ जो जति समयसम्म पनि पब्जी खेल्न पाउँदछ ।
पब्जीबारेका केही तथ्य
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप Player Unknown’s Battlegrounds(PUBG) हो ।पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ । आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।