‘सबैलाई खुशी दिन सकेँ !’

अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टी प्रतियोगिताहरुमा व्यस्त नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने यतिबेला बंगलादेशमा छन् । आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइरहेको सफलताले सबैलाई खुशी दिन सकेको बताउँदै उनले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् ।बंगलादेश प्रिमियर लिगमा सेलेट सिक्सर्सबाट खेलिरहेका उनी अस्ट्रेलियामा भइरहेको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश आएका थिए । इन्डियन प्रिमियर लिगदेखि बंगलादेशको लिग खेल्नसम्म पुग्दा उनले धेरै नै अनुभव बटुलिसकेका छन् ।

क्रिकेट वेबसाइट क्रिकबजका आतिफ आजमले उनै लामिछानेसँग क्रिकेटको सुरुवात, लेग स्पीन र अन्तर्राष्ट्रिय टी ट्वान्टी लिगका बारेमा अन्तर्वार्ता लिएका छन् ।

दुई वर्षअघि तपाईंले बंगलादेश प्रिमियर लिग खेल्नु सपना साकार हुने क्षण हो भन्नुभएको थियो । अहिले कस्तो लागिरहेको छ त ?

मैले अहिले बिग ब्यास लिग खेल्न अस्ट्रेलिया जानु अघिसम्म एसियन र अमेरिकन परिवेशमा मात्रै खेलेको थिएँ । अस्ट्रेलियामा मैले खेल्न पाउने राम्रो अवसर नै बिग ब्यास लिगबाट नै हो भन्ने थाहा थियो । मैले मेरो बुबाआमालाई गर्व महसुस गराउनु थियो ।

मलाई माया गर्ने समर्थकलाई खुशी दिनु थियो । आफैलाई केही गर्न सकेँ भन्ने आत्मविश्वास बनाउन थियो । त्यसैका लागि बंगलादेश प्रिमियर लिगमा खेल्ने सपना देखेको थिएँ, जुन पूरा भइरहेको छ ।

बिग ब्यास लिगमा खेलेपछि तपाईंको खेल अझै राम्रो भएको हो ?

हो, पक्कै पनि । क्रिकेटरका रुपमा जति धेरैथरी खेलमा भिज्न पाइन्छ उति नै राम्रो हुँदै गइन्छ । अस्ट्रेलियामा क्रिकेट खेल्नु अरु कुनै पनि देशमा खेल्नुभन्दा भिन्न हुन्छ । विकेटलाई लिएर त्यहाँ अति नै सजग हुनुपर्छ ।

ब्याट्सम्यान तपाईंको हरेक बलमा छक्का हान्ने प्रयासमा हुन्छन् । एसियन पिचमा बल राम्रोसँग घुम्ने हुँदा स्पीनरका लागि अलि सजिलो हुन्छ । तर, अस्ट्रेलियामा त्यस्तो फाइदा हुँदैन ।

बंगलादेश प्रिमियर लिग खेल्न बिग ब्यास लिग छाड्न के कुराले प्रेरित गर्‍यो ?

दुवै प्रतियोगिताका लागि एउटा प्रतिबद्धता थियो । बंगलादेशमा त म ११ महिनाअघि नै अनुबन्धित भइसकेको थिएँ । बिग ब्यास जानुअघि पनि म यता रहेको बताएको थिएँ । बंगलादेशमा सुरु नहुँदासम्म खेल्न सक्छु र यता सकिएपछि मात्रै समय हुन्छ भनेको थिएँ । यसैले यता बचेको समयमा हो भने म खेल्छु भनेको थिएँ, भनेको जस्तो नै भयो र दुवैतिर खेल्न पाएँ ।

त्यसमा बंगलादेशमा मेरो क्लब सिलेट सिक्सर्सका प्रमुख कार्यकारी यासिर ओबेडले धेरै नै सहयोग गर्नुभएको थियो । मेरो नैतिकताले पनि अप्ठ्यारोमा सहयोग गरेको मान्छेलाई धोका दिन दिँदैन । त्यसैले बंगलादेशमा सुरु हुनेवित्तिकै यता आएँ ।

तपाईं लेग स्पीनर चाहिँ कसरी बन्नुभयो ?

गाउँमा दाजुभाइ, साथीहरुसँग सडकमा नै क्रिकेट खेलिरहेको हुन्थेँ । त्यो बेला मिडियम पेस र अफस्पीन गर्थें । खासमा बल सबै तरिकाले फालिन्थ्यो । यसरी गर्दा यो हुने रहेछ भनेर नाममा दिइने न हो । तर, बेलाबेला उनीहरुलाई आउट पार्न निकै अप्ठ्यारो हुन्थ्यो ।

त्यसपछि कसरी बलिङ गर्दा आउट पार्न सकिन्छ भनेर सोच्न थालेँ । त्यसपछि नै लेगस्पीन सुरु गरेँ । लेगस्पीन गर्न थालेपछि त सबैजनालाई ब्याटिङ गर्न अप्ठ्यारो भएको थियो । मैले उनीहरुलाई हराउन थालेको थिएँ । यसैले लेगस्पीनमा सुरु भयो ।

तपाईंले लेग स्पीन बलिङ सुरु गर्ने बेला कुनै खेलाडीको बलिङ गर्ने तरिका अभ्यास गर्नुभएको थियो ?

पहिले लेग स्पीन सुरु गर्ने बेलामा त मैले कसैको बलिङमा पनि ध्यान दिन पाएको थिइनँ । किनभने त्यो बेलामा हाम्रो घरमा टेलिभिजन सेट थिएन । मिलेसम्म रेडियोमा कमेन्ट्रिहरु सुन्ने गर्थे । त्यसपछि घरमा टेलिभिजन सेट ल्याइयो । बल्ल सेन वार्नको बलिङ हेर्न थालेँ । विस्तारै सेन वार्नको भिडियोहरु युट्युबमा पनि हेर्न थालेँ र धेरै कुरा बुझेँ ।

तपाईंले हङकङमा हङकङ टी–२० बिल्ट्ज क्रिकेट खेलेपछि माइकल क्लार्कले उनको क्लब टिममा अस्टे«लिया बोलाएका थिए, उनको सहयोगले तपाईंको खेल जीवनमा कस्तो प्रभाव परेको छ ?

एकदमै हो । ममा उनको प्रभाव धेरै नै छ । नेपालको एउटा केटो जोसँग केही थिएन उसले अहिले आफ्नो देशलाई गर्व गर्न सक्ने काम गर्न पाएको छ । क्लार्कले मलाई सिड्नीमा उनको क्लबमा बोलाए र मैले त्यहाँ खेल्न पनि पाएँ ।

सबै कुरा एक रुपैयाँ पनि खर्च नगरी सिक्न र बुझ्न पाएँ । पहिलेदेखि नै अस्ट्रेलियामा गएर खेल्ने सपना थियो, क्लार्कले नै त्यो पूरा गरिदिएका हुन् ।

क्लार्कको त्यो चिठ्ठी पाउँदा कस्तो लागेको थियो ?

रमाइलो र आश्चर्य एकैपटक लागेको थियो । एकपटक त साच्चै त हो ? जस्तो लाग्यो । माइकल क्लार्कले मलाई बोलाएको भन्दा त पत्याउनै सकिनँ । फेरि हङकङमा खेल्दा पनि त्यो सम्भावनाबारे उनले केही बताएको भएर विश्वास गर्न सकेँ । त्यहाँ हामी एकअर्कासँग धेरै कुराकानी गर्थ्यौं ।

गएको वर्ष इन्डियन प्रिमियर लिगको अन्त्यतिर दिल्ली डेयरडेभिल्सबाट तीन खेल जस्तो खेल्नुभयो, त्यहाँ रहँदाको अनुभव कस्तो भयो ?

भारतमा खेल्न पाउनु पनि भाग्यकै कुरा हो । त्यहाँ सबैजना असाध्यै राम्रो हुनुहुन्छ । मेरा लागि प्रतियोगिता सम्झनलायक भयो । त्यस्तो ठूलो प्रतियोगितामा त्यसअघि कहिल्यै खेलेको थिइनँ । मेरा लागि त्यो असाध्यै गर्वको क्षण हो । मेरा लागि मात्र होइन देशकै लागि पनि गर्वको क्षण थियो । मैले मौका पाएको अन्तिम तीन खेलमा राम्रो नै गरेको थिएँ ।

दिल्लीले फेरि तपाईंलाई टिममा नै राखेको छ …

यसपटक दिल्ली टिम बलियो बनेको छ । हामी पहिले गरेका गल्तीहरु सुधार गर्ने प्रयास गर्ने छौँ । हामी हाम्रो टिमका लागि खुशी हुन पाउने अवस्था बनाउने छौँ ।

दिल्लीमा हुँदा प्रशिक्षक रिक्की पोन्टिङ कस्तो कुराकानी हुन्थ्यो ?

आईपीएलका बेला उहाँसँग मैले धेरै नै विषयमा कुराकानी गर्थें । हरेक दिन केही नयाँ कुरा सिक्ने इच्छा हुन्थ्यो । यसैले प्रश्न सोधिराख्न मन लाग्थ्यो । क्रिकेटबारे हरेक कुरा जान्ने इच्छाले नै प्रश्नहरु सोध्थेँ । किनभने धेरै मान्छेलाई धेरै कुरा सोध्दा क्रिकेटबारे नबुझेका कुराहरु बुझ्न सकिन्छ । आफूले सक्नेसम्मको राम्रो गर्न सकिन्छ ।

अहिले बंगलादेशमा तपाईंको टिममा रहेका इमरान ताहिरसँग केही कुरा सिक्नुभयो ? दिल्लीमा पनि तपाईंहरु सँगै हुनुहुन्थ्यो ।
पक्कै पनि । एक महान खेलाडी र असाध्यै बिनम्र पनि । अहिले पनि हामी सँगै हुन्छौँ । अभ्यासका बेलामा पनि सँगै नै हुन्छौँ । हामी एकअर्कासँग कुरा गर्छौं र जानेका कुरा भन्छौँ ।

अहिलेको आधुनिक क्रिकेटमा कलापूर्ण रुपमा विश्वस्त भएर बलिङ गर्ने स्पीनरहरु बढिरहेका छन् । तपाईंलाई के लाग्छ, यसको पछाडिको कारण के होला ?

यसको पछाडि ठ्याक्कै यही कारण छ भन्ने त मलाई थाहा भएन । ब्याट्सम्यानलाई दबाबमा राख्न खोज्दै बलिङ गर्ने हो भने सही ढंगको बलिङ गर्न सकिन्छ जस्तो लाग्छ । लाइनमा मिलाएर बलिङ गर्दा हानिहाल्न सहज हुँदैन ।

लेग स्पीनमा ब्याट्सम्यानलाई झुक्याउन अलि सजिलो हुन्छ । बलिङ बुझेन भने आउट हुने खतरा रहन्छ । त्यही भएर पछिल्लो समय लेगस्पीनरहरु अलि विश्वस्त देखिएका होलान् कि ।

बलिङ गर्दा तपाईंको मुख्य विशेषता के हो जस्तो लाग्छ ? गति हो कि विविधता ?

दुवै हो । बलिङको गति र विविधता नै । अहिले यहाँसम्म आइपुग्दा मेरो बलिङको गति पनि फेरिएको छ । दुईवर्ष अघिसम्म गति अलि सुस्त हुन्थ्यो । बलिङमा धेरै विविधतामा काम गरिरहँदा मैले गति पनि अलि बढाएको छु । त्यसैले अहिले त गति र विविधता दुवै नै राम्रो भएको छ जस्तो लाग्छ ।

अफगानिस्तानका रसिद खानले लेगस्पीनमा नयाँ आयाम ल्याए भन्न मिल्छ ? किनभने तपाईंको स्टार सेन वार्न त्यति तिब्र थिएनन्, उनको गति अलि कम नै थियो ।

हो, पछिल्लो पुस्तामा रसिद खानको प्रभाव ठूलो छ । यसमा मलाई सयमसँगै अवस्थाहरु परिवर्तन हुँदै जान्छ जस्तो लाग्छ । २००३ मा क्रिकेट जस्तो थियो २०१९ मा त्यस्तै छैन । ब्याटिङमा पनि पहिले त स्वीप सट खेल्ने ब्याट्सम्यान कहाँ थिए र ? त्यो बेला ब्याट्सम्यानको खुट्टातिर चेपेर बल फाल्न पाइन्थ्यो ।

अहिले त ब्याट्सम्यान चलाख छन्, सबैतिर सट हान्छन् । त्यसैले विविधतासँगै अलि गति बढाएर गर्दा झुक्याउन सकिन्छ । यो एउटा चुनौती नै हो । यसमा रसिद खानले दिएको योगदान पक्कै पनि सम्झनलायक छ । धेरै युवा पुस्ता उनलाई पछ्याउँछन् ।

नेपालमा हुँदा तपाईंले पाउनु हुने यो प्रसिद्धि कस्तो लाग्छ ? कत्तिको रमाउनु हुन्छ ?

नेपालीहरु असाध्यै मायालु छन् । यहाँ बंगलादेशमा प्रहरी पहरा अलि धेरै नै छ । नेपालमा हुँदा यस्तो हुँदैन । तपाईं आफ्ना छिमेकी र साथीभाइमाझ उही पुरानो सन्दीप भएर बाँच्न सक्नुहुन्छ । तर पनि, अहिले अवस्था धेरै नै फेरिएको छ ।

पहिले काठमाडौंमा नै पनि म आरामले जहाँ पनि हिँड्न सक्थेँ । अहिले त सक्दिनँ । सबैलाई समय दिन पनि सकिँदैन । व्यक्तिगत जीवन पनि त छ नि । सकेसम्म सबैका लागि समय मिलाउन खोज्छु कसैलाई पनि दुःखी बनाउन मन लाग्दैन ।

एउटा क्रिकेट खेल्ने देशको रुपमा नेपालको भविष्य कस्तो होला जस्तो लाग्छ ?

राम्रो प्रश्न, केही पहिलेको कुराबाट सुरु गर्छु । २०१४ मा हामीले यही बंगलादेशमा टी २० विश्वकप खेलेका थियौँ । त्यसपछि नेपाली क्रिकेट कतै हराए जस्तो भयो । कुराहरु अरु धेरै नै छन् । मलाई थाहा छैन के भयो र अहिले हामीसँग क्रिकेट संघसम्म भएन ।

मैले खेल्न थालेदेखि नै आईसीसीको प्रतिबन्धमा छ नेपाल क्रिकेट संघ । किन यस्तो भइरहेको हो अहिलेसम्म पनि थाहा छैन । आशा गरौँ, सबै कुरा छिटै ठीक हुने छ । हामीले घरेलु क्रिकेटलाई सुधार गरेर काम गर्न सक्यौँ भने प्रतिस्पर्धा गर्न सक्षम हुने छौँ ।

क्रिकेट संघ नै छैन भने त युवा खेलाडीहरुलाई आउन निकै नै अप्ठ्यारो हुन्छ होला होइन ? युवा खेलाडीहरुलाई सक्षम बनाउन केही काम भएको छैन ?

अहिले व्यावसायिक क्षेत्रबाट वर्षमा केही क्रिकेट लिगहरु हुन्छन् । बंगलादेश प्रिमियर लिग, इन्डियन प्रिमियर लिग जस्तै नेपालमा हुने त्यस्ता लिगले हाम्रो क्रिकेट क्षमता बढाउन पनि सहयोग गरेको छ ।

तर, सबैकुरा राम्रोसँग हुन तपाईंहरुसँग क्रिकेट संघ हुनुपर्ने हो ….

हो पक्कै पनि । त्यसले तपाइँलाई क्रिकेटसँग नै आधारभूत रुपमा ध्यान बनाइराख्न सजिलो पार्छ नै । अहिले त खेलाडी भएर क्रिकेट संघको चिन्ता लिनु परेको छ, टिमको बारेमा चिन्ता लिनु परेको छ, देशको बारेमा चिन्ता लिनुपरेको छ, अनि म कसरी आफू भइरहने भनेर चिन्ता लिनुपरेको छ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।